२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

अध्यक्षको दाँत झार्ने उपाध्यक्षको बयान : कमजोर रहेछ, ‘एक सट’ मै झरिहाल्यो

सप्तरी । मंगलबार कार्यपालिकाको बैठकमा भएको विवाद हात हालाहालको स्थितिमा पुग्दा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलको अगाडिका दुई दाँत झरेका छन्। अनुदानमा आएको गहुँको बीउ वितरणसम्बन्धी छलफलका क्रममा अध्यक्ष मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच भएको विवाद झडपको अवस्थामा पुगेको थियो।

छलफलका क्रममा अध्यक्षले ३ नम्बर वडाबाटै ३ र ४ नम्बरका लागि बीउ वितरणको प्रस्ताव राखेका थिए । १ नम्बर वडाका लागि सामूहिक भवन, २ नम्बरका लागि नदी किनार र ५, ६ र ७ का लागि पनि एउटै वितरण स्थल तोक्ने उनको प्रस्ताव थियो। बैठकमा उपस्थित उपाध्यक्षसहित केही कर्मचारी र वडाअध्यक्षले उनको प्रस्ताव व्यवहारिक नभएको टिप्पणी गरेका थिए ।

अध्यक्षले उनको प्रस्तावमा कुनै टिप्पणी सुन्न नचाहेपछि विवाद पैदा भएको प्रत्यक्षदर्शी एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए । उनले भने, ‘हामीले सुरक्षाकर्मीको कमी छ, बरु केन्द्रमा पारेर वितरण गरौं भनेका थियौं । बैठकमा उपस्थित अधिकांशले चाहिँ सबै वडामा वितरण स्थल तोक्नुपर्ने माग राखेका थिए। उनीहरूले त्यसका जिम्मा वडाअध्यक्षलाई दिन प्रस्ताव गरेका थिए ।’

तर, अध्यक्षले आफूले भनेकै स्थलबाट बीउ वितरण गर्नुपर्ने अडान लिएका थिए। आफूले भनेको स्थानबाट वितरण नभए बीउ फिर्ता पठाउने धम्की उनले दिएका थिए। घटनाबारे कर्मचारी बताउँछन्, ‘५ र ७ नम्बर वडालाई अध्यक्षले पेलेको भन्दै अव्यवहारिक निर्णय लाद्न नपाइने तर्क उपाध्यक्षले गर्नुभयो। त्यसपछि अध्यक्षले आमाचकारी गाली गर्दै हात हाल्न तम्सिँदा घम्साघम्सी भयो। उपाध्यक्षको हातमा चोट लाग्यो, नाडीको चुरा फुट्यो, अध्यक्षको अगाडिको दुई दाँत नै झर्‍याे ।’

उनका अनुसार अध्यक्ष अभद्र शब्द प्रयोग गरी चरित्रहत्या हुने प्रकारका गाली गर्दै हातपातमा उत्रिएपछि उपाध्यक्षले कुर्सीले हिर्काउँदा दाँत झरेको थियो । उनी भन्छन्, ‘उपाध्यक्षले गाली सुन्नै नसकेर प्रतिकार गर्नुभएको थियो । दाँत झरेपछि अध्यक्षले उपाध्यक्षमाथि कारबाही गर्नुपर्ने प्रस्ताव राखे पनि उपस्थित व्यक्तिहरूले दुवैजनाको गल्ती भएकाले मिल्न दबाब दिएपछि अध्यक्ष बैठक छोडेर हिँड्नुभयाे ।’

बाहिरै देखिनेगरी उछिट्टिएको र कमजोर भइसकेकाले जोडले नहाने पनि दाँत झरेको उनले बताए। ‘अध्यक्ष अलिक बुढो उमेरको हुनुहुन्छ। शायद दाँत हल्लिएको र कमजोर नै थियो होला। त्यस्तो जोडले हानेको त होइन। सामान्य घम्सा–धम्सी भएको हो। अगाडिपट्टि उहाँको दुई वटा दाँत सधैं देखिन्थो। तिनै दाँत एकै पटकमा झरेका हुन्,’ उनले सुनाए।

उपाध्यक्ष उषाकुमारी मण्डललाई हामीले किन त्यस्तो झडप भयो भनेर सोधेका थियौं । प्रस्तुत छ उनीसँग भएको कुराकानीको अंशः

अध्यक्ष सूर्यनारायण मण्डलसँग किन झगडा भयो ?
५०० बोरा गहुँको बीउ गाउँपालिकामा आएको थियो। त्यसको वितरणबारे छलफल गर्न कार्यपालिकाको बैठक बोलाइएको थियो। सबै त्यहीँ थियौँ। हाम्रो घर वडा नं. ७ मा पर्छ। तर गाउँपालिका अध्यक्षले त्यहाँ बीउ नै दिएनन् । मैले ७ नम्बरमा किन बीउ नदिएको भनेर सोधेको थिएँ । त्यही विषयमा झगडा भयो।

अनि अध्यक्षलाई तपाईंले हिर्काइहाल्नुभयो ?
होइन, अध्यक्ष आफ्नो कुर्सीबाट उठेर मेरो कुर्सीतिर आए। उनले मलाई धेरै नराम्रो गाली गरे। किन गाली गरेको भनेको त मेरो हात समाते । मेरो सबै चुरा फुट्यो । मेरो सारी खोल्दिन्छुसम्म भने । त्यस पछि झगडा भएको हो।

अध्यक्षको त दाँतै झरेछ, थाहा पाउनुभएन ?
मेरो हातबाट त दाँत झरेको होइन। जब हाम्रो विवाद सुरु भयो, अध्यक्षले मेरो मोबाइल, ब्याग सबै फ्याँकिदिए । अनि मैले आफू बसेको प्लास्टिकको कुर्सीले प्रतिकार गरेँ । कार्यपालिकाका सदस्यहरूले कुर्सी समाते । मलाई त्यतिबेला त थाहै भएन, दाँत झर्यो कि झरेन भनेर।

तपाईंले हिर्काएपछि अध्यक्षले के भन्नुभयो ?
–उनले पहिलेदेखि नै धेरै गाली गरेका थिए । बोल्नै नहुने शब्द बोले । झन् घटना घटेपछि त सबैको अगाडि धेरै नै गाली गरे ।

प्रहरीमा उजुरी दिनु भएन ?
–आज २ नम्बर प्रदेशमा बिदा छ । भोलि उजुरी दिन्छु ।
प्रहरीमा के भनेर उजुरी दिनुहुन्छ ?
–मलाई जे भयो, जे–जे अध्यक्षले गरे सबै कुरा खुलाएर भोलि नै उजुरी दिन्छु। मेरो हात समातेको, चुराहरू सबै फोरिदिएको र सारी खोल्छुसम्म भनेको कुरा सबै उजुरीमा राख्ने छु । यो कुरा कार्यपालिकाका उपस्थित सबै सदस्यले सुनेका छन् । जे घट्ना घट्यो, नबढाइ–नघटाइ उजुरीमा लेख्छु।

तपाईंलाई गाली गरेको रेकर्ड छ त ?
–मेरो त मोबाइल र ब्याग सबै फ्याकिदिए, कसरी रेकर्ड गर्नु र ? झगडामा झन् कसरी रेकर्ड गर्नु ? तर अरूले सुनेका छन्।

दाँत झारेर गल्ती गरेछु भन्ने लागेको छैन ?
–दाँत त झर्‍याे कि के भयो मलाई थाहा छैन। त्यो घटनापछि कार्यपालिकामा सबैले मलाई बसाए। ५ नम्बरका वडाध्यक्षले दाँत पहिलेदेखि नै कमजोर थियो, खस्यो होला भन्थे। उनको दुईवटा दाँत खाने–टोक्ने अवस्थामा थिएन रे। सायद कुर्सीले एक पटक लाग्दैमा झरेछ क्यारे ।

तपाईं कुन पार्टीबाट निर्वाचित हुनु भएको ?
–मैले जनता समाजवादी पार्टीबाट चुनाव जितेको हो। अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा छु।

अध्यक्ष कुन पार्टीका ?
–पहिले नयाँ शक्तिमा थिए । अहिले जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष)का हुन्।

भोली अफिस जानु हुन्छ कि जानुहुन्न्न ?
– म अफिस नियमित जाने गरेको छु । किन नजानु ? भोलि पनि अफिस जान्छु ।

२०७८ मंसिर २३, बिहीबार प्रकाशित 0 Minutes 1280 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार