२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।

नेकपा एमालेको लगातारको विरोधका कारण संसद्ले छानबिन समिति बनाएको थियो । नेकपा एमालेले पूर्व अर्थमन्त्रीको हैसियतमा बयान लिन पाउनुपर्ने तर्क गर्दै शर्माले अर्थमन्त्रीको हैसियतमा सम्बोधन गर्न नपाउने अडान लिएको थियो ।

नेकपा एमालेका नेता योगेश भट्टराईले समिति बनेपछि संसदमा सम्बोधन गर्दै अर्थमन्त्रीको हैसियतमा सदनमा उपस्थित हुन नहुने र पूर्व अर्थमन्त्रीको हैसियतमा छानबिन समितिले बयान लिने बताएका थिए ।

भट्टराईले अर्थमन्त्रीले बोल्ने नैतिक हैसियत नभएको बताएका थिए । उनले अर्थमन्त्रीले राजीनामा दिएरमात्रै संसद्मा बोल्न पाउने बताए ।

“त्यसपछिमात्रै हामीले उहाँको भाषण सुन्छौं,” उनले भने, “अपराध संहिता आकर्षित भएको छ । साइबर ऐन आकर्षित भएको छ । उहाँमाथि कारवाही हुनैपर्छ ।”

त्यसपछि रोष्ट्रममा पुगेका शर्माले अर्थमन्त्रीकै हैसियतमा सम्बोधन गर्ने बताएका थिए । उनले छानबिनका लागि मार्गप्रशस्त गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

समितिले दिएको सत्य तथ्यका आधारमा जवाफ दिने पनि बताएका थिए ।

“मेरो राजीनामा माग्ने सबैको सम्मान गर्दै राजीनामा दिएको छु,” उनले भने, “मैले गल्ती गरेको छैन । तपाईंहरु तथ्यमा गइदिनुहोला ।”

जेठ १४ गते राति अर्थ मन्त्रालयमा दुईजना अनधिकृत व्यक्तिको उपस्थितिमा निश्चित घरानालाई फाइदा पुग्नेगरी करका दर हेरफेर गरेको आरोप उनीमाथि पछिल्लोपटक लागेको थियो ।

त्यसअघि पनि उनीमाथि लगातार आरोप लाग्दै आएको थियो । सीमित उद्योगीलाई फाइदा पुग्नेगरी आयातमा छुट दिएको, सेनेटरी प्याडको आयातमा विभेदकारी नीति ल्याएको आरोप उनीमाथि थियो ।

नेपालमा अर्बौँ लगानीमा खुलेका सेनेटरी प्याडका कम्पनी शर्माले दिएको कर छुटका कारण बन्द हुने अवस्थामा पुगेका थिए ।

उनले विदेशबाट आयात हुने सेनेटरी प्याडको भन्सार घटाइदिएका थिए । बिचौलियाको प्रभावमा परेर उनले यस्तो काम गरेको आरोप थियो ।

त्यसैगरी प्रतिशोध राखेर गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेका थिए । पछि सर्वोच्चले उनलाई पुनस्थापित गरेको थियो

शर्माले अघिल्लो वर्ष प्रतिस्थापन विधेयकमार्फत् फलामे छड, जस्तापातालगायतका सामग्री उत्पादनका लागि आयात हुने कच्चा पदार्थमा पनि निश्चित कम्पनीलाई मात्रै फाइदा पुग्ने व्यवस्था गरेको भन्दै विरोध भएको थियो ।

उनीमाथि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासमा लिएर निर्णय गर्दै आएको आरोप थियो । जाँदाजाँदै शर्माले एमालेप्रति लक्षित गर्दै आफूले राष्ट्रघात नगरेको आरोप लगाएका थिए ।

“अर्थमन्त्रीकै हैसियतले बोल्न चाहन्छु,” उनले भने, “संसद दुईपटक विघटन भयो । हामीले यो बीचमा उतारचढाव भोग्यौँ । गम्भीर प्रकृतिका कामहरु भए । मैले संसद्मा आएर के कारणले बोल्न नपाउने ? मैले कोरोनामा छटपटिएका जनताविरुद्धमा काम गरेँ कि ! मैले बच्चाको दूधको रेट बढाएर चकलेटको रेट घटाएँ ? के कारणले अनैतिक भएँ ?”

२०७९ असार २२, बुधबार प्रकाशित 0 Minutes 302 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार